Breaking News

अरुण तेस्रो जलविद्युत आयोजनाको निर्माण कार्य तीब्र गतिमा

अरुण तेस्रो जलविद्युत आयोजनाको निर्माण कार्य तीब्र गतिमा

राजविराज – भारतको लगानी र नेपालको सहयोगमा राष्ट्रिय गौरवको आयोजना अरुण तेस्रो जलविद्युत परियोजनाको निर्माण कार्य तीब्र गतिमा अघि बढिरहेको छ ।
करीब ९ महिना अघिदेखि निर्माण कार्य सुरु गरिएको आयोजनाको हालसम्म २० प्रतिशत काम सकिएको छ । संखुवासभाको मकालु गाउँपालिका–५ मा रहेको सो आयोजना भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आएको बेला २८ बैशाखमा प्रधामन्त्री केपी शर्मा ओली र मोदी दुवै जना कामाण्डौ बाटै रिमोट थिचेर संयूक्त रुपमा उद्घाटन गरेका थिए ।
उद्घाटन लगतै काम सुरु भएको परियोजनामा स्टिल पाइपमार्फत ४ वटा टर्बाइन घुमाएर ९ सय मेगावाट विद्युत उत्पादन गर्ने लक्ष छ । १ खर्ब १६ अर्ब रुपैयाँ लागतमा बन्दै गरेको आयोजना भारतीय सरकारी स्वामित्वको कम्पनी सतलज जलविद्युत निगमले निर्माण गरिरहेको छ । आयोजना निर्माणअन्तर्गत हाल वैकल्पिक सुरुङ्ग निर्माण, सडक विस्तार, विद्युत प्रसारण लाइन निर्माण लगायतका कामहरु भइरहेका छन ।
केही प्राविधिक समस्याका कारण आयोजना समयमै सम्पन्न हुन भने कठीन देखिएको आयोजना प्रमूख (सिईओ) सतिशकुमार शर्माले बताए ।
संखुवासभाको सदरमुकाम खाँदबारीबाट बाँध निर्माण स्थलमा व्यवस्थित सडक नहुँदा निमार्ण कार्यमा समस्या आएको शर्माको भनाइ छ । वर्षाको समयमा खाँदबारी–किमाथांका सडक सुचारु नहुने भएकोले निर्माणको काम प्रभावित हुने आयोजनाका सिइओ शर्मा बताउँछन् । सडकको अवस्था नसुध्रिएसम्म आफूहरुले समयमा काम सम्पन्न गर्न नसक्ने उनको भनाइ छ । नेपाल सरकारले यस विषयमा चासो लिए केही हदै सम्म समस्या हल हुने उनले बताए ।

परियोजनामा २ हजार मजदुर रोजगार

परियोजनामा हाल २ हजार ४ सय मजदुरसहितको टोली निर्माण कार्यमा खटिइरहेको छ । पहाड फोरेर दैनिक ५ मिटरको दरल सुरुङ्ग खन्ने काम भइरहेको आयोजनाले जनाएको छ। अयोजनाअन्तर्गत मकालुको दोभानमा बाँधस्थल बनाएर ११ दशमलब ७ किलोमिटर सुरुङ मार्गमार्फत चिचिला गाउँपालिका–३ स्थित दिदिङमा पानी खसालिने शर्माले जानकारी दिए । सम्झौताअनुसार अरुण तेस्रो आयोजनाको काम सन् २०२२ सम्म सम्पन्न गरिसक्नु पर्ने छ । मुख्य सुरुङ्ग सम्म पुग्न दोभानमा निर्माण भइरहेको प्रवेश सुरुङ्ग मार्गको ५ सय ९ मिटर लम्बाईमध्ये ३ सय ४७ मिटरको काम सकिइसकेको छ । दोभानमा नदी डाइभर्सन गर्न निर्माण गर्नुपर्ने ३ सय ९३ मिटर लामो सुरुङमध्ये ६५ मिटरको काम सकिएको छ । बाँध निर्माणमा भारतीय ‘जयप्रकाश एसोसिएट्स’ र पावर हाउस निर्माणमा भारतकै ‘पटेल इन्जिनियरिङ कन्सल्टेन्टले काम गरिरहेको छ । त्यससँगै विद्युत प्रशारण लाइनको निर्माणको काम पनि सुरु भएको छ ।

नेपालले पाउने विद्युत राष्ट्रिय प्रशारण लाइनमा जोडिने

संखुवासभा, भोजपुर, खोटाङलगायत जिल्ला हुँदै प्रशारण लाइन महोत्तरीको ढल्केवरस्थित ४ सय केभीको राष्ट्रिय प्रशारण लाइनमा जोडिने छ । नेपालले पाउने २१ दशमलव ९ प्रतिशत अर्थात १ सय ९७ मेगावाट विद्युत ढल्केवरस्थित ४ सय केभी प्रशारण लाइनमार्फत वितरण हुनेछ । उता भारततर्फ लगिने बिधुत मुजफ्फरपुर प्रशारण लाइनमा जोडिने छ ।
२५ वर्षसम्म भारतले विद्युत उपभोग गरेपछि सो आयोजनामा नेपाल सरकारको पूर्ण स्वामित्वमा आउँछ । परियोजना पूरा हुँदासम्ममा नेपाल सरकारले विभिन्न शीर्षकबाट ३ सय ४८ अर्ब रुपैयाँ भारत सरकार बाट पाउने सम्झौतामा उल्लेख छ । आयोजनाका लागि सतलजले स्व–पूँजीको रूपमा २५ अर्ब रुपैयाँ लगानी गर्ने र बाँकी ९१ अर्ब रुपैयाँ भारतको पावर फाइनान्स कर्पोरेसन र अन्य बैंकबाट ऋण लिने भएको छ । विद्युत उत्पादन गर्न १ खर्ब ४ अर्ब र प्रसारण लाइन निर्माणमा १२ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।
बाँधबाट पावर हाउसमा पानी पुर्याउन ९ दशमलब ५ मिटर परिधिको ११ दशमलब ७८ किलोमिटर सुरुङ खन्नुपर्ने हुन्छ। ७ सय ४७ मिटरको दोस्रो सहायक सुरुङ्ग बाँध निर्माण स्थलदेखि ४ दशलमब ९६ किलोमिटरमा आमराङमा, ७ दशमलब १५ किलोमिटरमा तेस्रो सहायक सुरुङ सुन्तलेमा र चौथो सहायक सुरुङ्ग चिचिला गाउँपालिका–३ दिदिङ पुखुवामा निर्माणधीन अवस्थामा छ ।
पटेल इन्जिनियरिङ लिमिटेडले दोस्रो, तेस्रो र चौथो सहायक सुरुङ्ग , पावर हाउस, ट्रान्सफर्मर हाउस, टेलरेस टनेललगायत निर्माणको जिम्मा पाएको छ । उक्त कम्पनीले कोसी राजमार्ग्स्थित छ्याङकुटीदेखि दिदिङ्ग पुखुवासम्म सडकको ट्रयाक खोल्ने काम सुरु गरिसकेको छ ।

दिदिङ्ग पुखुवामा पहाड भित्र पावर हाउस कम्प्लेक्स र ट्रान्स्फर्मर हाउस निर्माणका लागि सुरुङ्ग खन्ने कार्य भइसकेको प्रमुख शर्मा बताउँछन ।

केही दिनमै ६ हजार बढी मजदुरले चौबीसै घन्टा काम गर्ने वातावरण बनाउने निर्माण कम्पनीले जनाएको छ । परियोजनाका लागि करीब ७१ हेक्टर जग्गा लिइएको छ। सोअन्तर्गत २२ हेक्टर जंगल क्षेत्र बाहेक ४८.८७ हेक्टर निजी जग्गाको मुआब्जा वितरण गरेर अधिग्रहणको काम सम्पन्न भइसकेको छ । परियोजनाले एक अर्ब २२ करोड ११ लाख १० हजार रुपैयाँ मुआब्जा वितरण गरिसकेको छ । मकालु गाउँपालिका–३, चिसोपानी नयाँबस्तीका ५ घर परिवारलाई थप मुआब्जा रकम र ११ घरलाई आवास निर्माणका लागि मुआब्जा दिएर बाँध निर्माणको काम थालिएको हो ।
०५१ सालमा नेपाली राजनीतिक दल र जलस्रोतको क्षेत्रमा क्रियाशिलको बिरोधका कारण विश्व बैंकले हात झिकेपछि अरुण तेस्रो भारतीय कम्पनी सतलज जलविद्युत निगम लिमिटेडले जिम्मा लिएको छ ।

Online Saptari Registration
Online Saptari Registration

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Under News Detail – 750 X *