Breaking News

सरकारको विरोधमा आज कांग्रेसले देशव्यापी शक्ति प्रदर्शन गर्ने,

सरकारको विरोधमा आज कांग्रेसले देशव्यापी शक्ति प्रदर्शन गर्ने,

काठमाडौं– नेपाली कांग्रेसले सरकारको विरोधमा आज ७७ जिल्लामा शक्ति प्रदर्शन गर्ने भएको छ। विरोध प्रदर्शनका लागि अधिकांश शीर्ष तहका नेताहरू आफ्नो गृह पुगिसकेका छन्।

वरिष्ठ नेता रामचन्द्र पौडेलले गृह जिल्ला तनहुँको विरोध प्रदर्शनको नेतृत्व गर्नेछन्। महामन्त्री डा शशाङ्क कोइराला नवलपुरका विरोध सभामा सहभागी हुनेछन्। पार्टी प्रवक्ता विश्व प्रकाश शर्मा चितवनको विरोध सभामा सहभागी हुनेछन्।

चितवनको सभा अहिलेसम्मकै विशाल हुने प्रवक्ता शर्माले दाबी गरे। अर्का नेता शेखर कोइराला मोरङको प्रदर्शनमा सहभागी हुनेछन्। युवा नेता गगन थापा पोखराको विरोध सभामा सहभागी हुन सोमबार बिहान जाँदैछन्।

पार्टीले केन्द्रीय नेताहरुलाई जिल्ला जानको लागि निर्देशन भने जारी नगरेको मुख्य सचिव कृष्ण प्रसाद पौडेलले जानकारी गराए। केन्द्रीय राजधानीमा हुने विरोध प्रदर्शन सहरका विभिन्न स्थानबाट निस्केर रत्नपार्कस्थित शान्ति बाटिकामा पुगी सभामा टुंगिने छ।

सभालाई केन्द्रीय नेताहरूले सम्बोधन गर्ने काठमाडौं जिल्ला सभापति सबुज बानियाँले जानकारी दिए। उपत्यकामा ललितपुर र भक्तपुर जिल्ला समितिले पनि छुट्टा छुट्टै कार्यक्रम गर्नेछन्। सरकारको विरुद्धमा माघ १३ गते बसेको केन्द्रीय समितिको बैठकले देशव्यापी प्रदर्शन गर्ने निर्णय गरेको थियो।

विरोध प्रदर्शनमा कांग्रेसले उठाउने मुद्धाहरु:

१. संसदमा माघ ११ गते भएको बलजफ्तीको घटना, प्रधानमन्त्री स्वयंको अग्रसरतामा भएको सम्झौता विपरीत चिकित्सा शिक्षा विधेयक पारित गर्ने कार्य र डा. गोविन्द केसीको अनसनप्रति संवेदनहीन व्यवहार।

२. स्वर्गीय नेताहरू— गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाका नाममा रहेका जी.पी. कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र, तनहुँ र सुशील कोइराला प्रखर क्यान्सर अस्पताल, बाँकेलाई नामेट गर्न सरकारले गरेको असफल प्रयास।

३. प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाको उपस्थिति बिना संवैधानिक परिषद्को बैठक डाकेर नियुक्तिका घटना।

४. देशव्यापी रुपमा बढेको हिंसा, हत्या र बलात्कार जस्ता जघन्य अपराध नियन्त्रण गर्न सरकार असफल भएको मुद्धा।

५. महंगी, भ्रष्टाचार एवं अनेकौं जनविरोधी निर्णयहरू।

६. जिल्ला स्तरमा रहेका स्थानीय मुद्दाहरू।

७‍‍. वाइडबडी जहाज खरिदमा भएको अर्बौंको घोटालाबारे गम्भीर ढंगले गहिरो छानबिन गर्न आवाज उठाउने।

८‍. नेपाल देश आफैले निर्माण गर्नु उपयुक्त हुने र गर्न सकिने ठहर गरिएको बुढी गण्डकी बहुउदेश्यीय परियोजनाबिना प्रतिष्पर्धा विदेशी कम्पनीलाई सुम्पिनुका पछिल्तिर, के रहस्य लुकेको छ?

९. आवश्यकता भन्दा दोब्बर बढी रुख काट्ने प्रस्तावका कारण उत्पन्न विवाद अन्त्य गरी, निजगढ विमानस्थल निर्माण गर्ने प्रकृयामा ढिलासुस्तीको विषय।

१०. ३३ किलो सुन काण्डमा ‘ठुला माछा’  सरिक छन् भनेर गृहमन्त्री स्वयंबाट आएको अभिव्यक्ति अनुरुपका ती ठूला माछा को हुन् र सरकार किन तिनलाई पक्राउ गरिरहेको छैन?

११. प्रदेश ५ मा प्रदेश सभा सचिवालयले ११ वटा गाडी खरिद गर्दा वास्तविक बजार मूल्य भन्दा बढी निकासा गरी गरिएको भ्रष्टाचार।

Online Saptari Registration
Online Saptari Registration

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Under News Detail – 750 X *