Breaking News

के तपाईले आफ्नो व्यवसायिक विवरण onlinesaptari.com मा राख्‍नु भयो?

तपाईको व्यवसायिक विवरण राख्‍न वा सच्याउन [email protected] मा मेल वा 9804752133 मा सम्पर्क गर्नुहोला ।

अन्तर्राष्ट्रिय मैथिली सम्मेलनमा प्रदेश १ र २ को कामकाजी भाषा मैथिली बनाउन माग

अन्तर्राष्ट्रिय मैथिली सम्मेलनमा  प्रदेश १ र २ को  कामकाजी भाषा मैथिली बनाउन माग

जनकपुर– जनकपुरमा जारी दुई दिवसीय अन्तर्राष्ट्रिय मैथिली सम्मेलन १० बुँदे घोषणापत्र जारी गर्दै आइतबार सम्पन्न भएको छ।

सम्मेलनले प्रदेश १ र २ मा कामकाजीको भाषा मैथिली बनाउन माग गरेको छ। दुबै प्रदेशमा प्रदेशस्तर र स्थानीय तहको सरकारी, अर्धसरकारी तथा गैर सरकारी कार्यालयहरुमा मैथिलीलाई कामकाजी भाषा बनाउनु पर्ने घोषणापत्रमा उल्लेख गरिएको छ।

दुई दिनसम्म चलेको सम्मेलनमा अभिव्यक्त भएका विचार, कार्यपत्र र सहभागीहरुको अभिमतको आधारमा प्रदेश १ र २ को कामकाजी भाषा मैथिली हुनुपर्ने सम्मेलनले निष्कर्ष निकालेको हो। नेपालमा नेपालीपछि मैथिली सबैभन्दा बढी बोलिने दोश्रो भाषा हो।

यसैगरी नेपालका विद्यालयहरुको पाठ्यक्रममा प्रारम्भिक बालशिक्षादेखि कक्षा १२ सम्म सय पूर्णाङ्कको एउटा पत्र मातृभाषामा अनिवार्य राखिनुपर्ने सम्मेलनले माग गरेको छ।

घोषणापत्रमा प्रारम्भिक बाल शिक्षादेखि कक्षा ५ सम्म अनिवार्य रुपले मातृभाषाको माध्यमबाट शिक्षण र विद्यार्थी मूल्याङ्कन गरिनुपर्ने, मैथिली भाषामा पत्रकारिता गर्नेहरुका लागि वृत्ति विकासको व्यवस्थाका साथै छापा र विद्युतीय सञ्चारमाध्यमहरुलाई राजकीय संरक्षण दिनुपर्ने उल्लेख छ।

प्रदेश १ र  २ लाई मुख्य कार्यक्षेत्र बनाउँदै मुलकभरका मैथिली भाषाको संरक्षण र सम्वद्र्धनका लागि मैथिली एकेडमी स्थापना गर्न सम्मेलनले सुझाव दिएको छ।

लोकसेवा आयोगदेखि अन्य आयोगहरुको परीक्षाको माध्यममा मैथिली भाषालाई मान्यता दिन, यस क्षेत्रको पर्यटकीय विकासका लागि मिथिला पर्यटन सर्किटको निर्माण, प्रदेशस्तरमा शोध केन्द्रको स्थापना र मैथिली शोधवृत्तिको व्यवस्था गर्न सम्मेलनले सरोकारबलासँग माग गरेको छ।

नेपालको संविधानमा व्यवस्था भएअनुसार भाषा आयोगलाई पूर्णता दिँदै मैथिली भाषाका विज्ञलाई समानुपातिक प्रतिधिनित्व गराउनुका साथै संविधानमा एउटा अनुसूची कायम गरेर नेपालका समृद्ध भाषाहरुलाई सूचीकृत गर्न सम्मेलनले सरकारलाई सुझाव दिएको छ।

शनिबार र आइतबार गरी दुई दिनसम्म जनकपुरमा चलेको अन्तर्राष्ट्रिय मैथिली सम्मेलनमा नेपाल तथा भारतबाट करिब दुई सयको संख्यामा मैथिली अभियन्ताहरुको सहभागिता रहेको थियो।

प्रदेश २ मा भाषासम्बन्धी विवाद चलिहरेको बेला जनकपुरमा आयोजना गरिएको सम्मेलनले मैथिली लगायत अन्य मातृभाषाहरुलाई सम्मान दिलाउन सफल भएको आयोजकले दाबी गरेको छ।

सम्मेलनमा जनकपुरस्थित मिथिला नाट्यकला परिषद्मार्फत मैथिली नाटकलाई संस्थागत गर्न सहयोग गरेका स्वर्गीय योगेन्द्र साह नेपालीलाई ‘मरणोपरान्त मिथिला रत्न पुरस्कार’ले सम्मानित गरिएको छ।

यसैगरी नेपालका चर्चित गायक विराटनगरका रमा मण्डल र भारत मधुबनीका संस्कृत भाषाका विद्वान डा जयनारायण यादव पनि ‘मिथिला रत्न पुरस्कार’बाट सम्मानित भएका छन्।

सम्मेलनमा भोजपुरी साहित्यमा कलम चलाउँदै आएका गोपाल अस्कलाई ‘मिथलाश्री’ र भारत मुम्बईका दिपक झालाई ‘अन्तर्राष्ट्रिय सद्भाव सम्मान’ प्रदान गरिएको छ।

नेपाल र भारतका मैथिली अभियन्ता सहभागी रहेको १६औँ अन्तर्राष्ट्रिय मैथिली सम्मेलन सफलतापूर्वक सम्पन्न भएको सम्मेलनका संयोजक पत्रकार तथा साहित्यकार रामभरोस कापडीले बताए।

Online Saptari Registration
Online Saptari Registration

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Under News Detail – 750 X *