
काठमाडौं– पछिल्लो समय नेपालमा धर्म परिवर्तनमा संलग्न रहेका विदेशी पक्राऊ पर्ने क्रम बढ्दै गएको छ। विभिन्न बहानामा नेपाल आएका विदेशीहरु धर्म परिर्वतनको काममा संलग्न पाइएपछि उनीहरुलाई नेपाल सरकारले देश निकाला गर्ने निर्णय लिएको हो।
केही दिनअघि मात्रै सरकारले इसाई धर्म प्रचारप्रसार गरेको आरोपमा २ जापानी महिलालाई ५ वर्ष नेपाल प्रवेशमा प्रतिबन्ध लगाई स्वदेश फिर्ता गरेको थियो। जापानी महिला मारी इकुरा र यासु ओवालाई इसाई धर्म प्रचार गरेको आरोपमा जनही ५०/५० हजार रुपैयाँ जरिवानासहित ५ वर्ष नेपाल प्रवेशमा रोक लगाइएको गृह मन्त्रालयले जनाएको छ।
यस्तै, केही समयअघि मात्रै अस्ट्रेलियाली नागरिक क्याटिया ग्रान धर्म प्रचार गरेकै अवस्थामा पक्राउ परेकी थिइन्। गत असारमा पनि फिलिपिनी नागरिक दी भेरा रिचार्ड र उनकी इन्डोनेसियाली श्रीमती रीता गोन्गालाई पनि नेपाल सरकारले आफ्नै देश फिर्ता गरेको थियो। ललितपुर, पुल्चोकमा होटल व्यवसाय सञ्चालन गर्दै आएका यी दम्पती धर्म प्रचारप्रसार र परिर्वतन गराउने काममा आवद्ध रहेको पाइएपछि एक वर्षका लागि नेपाल प्रवेशमा रोक लगाइएको थियो।
नेपालको संविधानको धारा २६ को ‘धार्मिक स्वतन्त्रता सम्बन्धी हक’को उपधारा ३ मा ‘धर्म परिर्वतन गराउने वा अर्काको धर्ममा खलल पुग्ने काम गर्ने/गराउने व्यक्तिलाई कानुन बमोजिम सजाय हुने’ व्यवस्था छ। भने, मुलुकी अपराध (संहिता) ऐन २०७४ को धारा १५८ मा धर्म परिर्वतन सम्बन्धी कानुन छ। जसमा ‘कसैले कुनै जातजाति वा सम्प्रदायमा सनातनदखि चल्दै आएको धर्म, मत वा आस्थामा खलल पुर्याई धर्म प्रचारप्रसार गर्न नपाइने’ प्रावधान छ।
यस्तै सोही धाराको उपधारा ३ मा धर्म प्रचारप्रसार गर्ने र गराउने व्यक्तिलाई ५ वर्षसम्मको सजाय र ५० हजारसम्मको जरिवाना हुने कुरा उल्लेख छ।
धर्म प्रचार गर्न नपाउने भनिए पनि इसाई धर्म सम्बद्ध एक संस्था युनिभर्सल पिस फेडेरेसन, नेसनल कन्फ्रेन्स अफ एसियन पोलिटिकल पार्टी र नेपाल सरकारको संयुक्त आयोजनामा ‘एसिया–प्यासिफिक समिट २०१८’ आयोजना हुँदैछ, नेपालमा धर्म प्रचार गरेको आरोपमा विभिन्न देशका इसाई धर्मावलम्बीहरु पक्रिने क्रम बढ्दै जाँदा इसाई धर्म सम्बद्ध संस्थाले नेपालमा अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्न लागेको सन्दर्भलाई लिएर प्रश्न उठ्न थालेको छ।
सम्मेलनमा जलवायु परिवर्तन, शान्ति तथा विकास, सुशासन, विवाह तथा परिवार जस्ता संस्थाहरुको सुदृढिकरणका विषयमा छलफल हुने जनाइएको छ।
‘युनिभर्सल पिस फेडेरेसन’को आयोजनामा हुने ‘एसिया–प्यासिफिक समिट’ को अध्यक्षता पूर्व प्रधानमन्त्री एवम् सत्तारुढ नेकपा वरिष्ठ नेता माधवकुमार नेपालले गर्नेछन्। मंसिर १४ देखि १७ सम्म काठमाडौँ आयोजना हुने सम्मेलनमा हालसम्म ८ देशका सरकार/राष्ट्र प्रमुख आउने जानकारी प्राप्त भएको फेडेरेसनका अध्यक्ष एकनाथ ढकालका स्वकीय सचिव हिम गुरुङले जानकारी दिए।
युनाइटेड पिस फेडेरेसनलाई नेपालभित्र धर्म प्रचारप्रसार गरेको आरोप लाग्दै आएको छ। फेडेरेसनका नेपाल अध्यक्ष एकनाथ ढकाल पूर्व सांसद र मन्त्रीसमेत हुन्। विवादित छविका ढकाल प्रधानमन्त्री केपी शर्मा ओलीको अघिल्लो मन्त्रिपरिषद्मा शान्ति तथा पुनर्निर्माण मन्त्री रहेका थिए। ढकाललाई तत्कालीन मन्त्रिपरिषद्मा सहभागी गराउँदा ओली सरकारको पार्टी भित्रैबाट आलोचना भएको थियो। नेपाल लाईभबाट