
राजविराज– चाडपर्व नजिकिएसँगै सप्तरीमा बजार अनुगमन सुरु भएको छ। तर, बारम्बार गल्ती दोहो¥याउनेलाई पनि कारबाहीको सट्टा चेतावनी दिएर छोड्ने गरिएका कारण यो केवल औपचारिकतामा मात्र सिमित भएको सरोकारवालाहरुले टिप्पणी गर्न थालेका छन्।
वर्षमा दुई÷तीन पटक गरिने बजार अनुगमनमा संयुक्त अनुगमन टोलीले जस्तोसुकै कमजोरी फेला पारेपनि ‘सुधार गर्नु’ भन्दै फर्कने गरेको छ। कारबाही नै नगरिएपछि सोही प्रकारका गल्ती बारम्बार दोहोरिने र त्यसको मार उपभोक्ताले खेप्नु परिरहेको नागरिक सञ्जाल सप्तरीका अध्यक्ष सुखराम यादव बताउँछन्।
‘बजारमा म्याद गुज्रेका खाद्य वस्तु नबेच्ने पसल पाउन गाह्रो छ।’, उनी भन्छन्, ‘प्रशासनले गरेको अनुगमनको कुनै प्रभाव देखिएको छैन।’
बजार अनुगमन टोली निस्किएपछि कतिपय व्यापारीहरुको भागदौड मच्चिने गरेपनि त्यस्ता व्यापारीलाई नियन्त्रणमा लिने वा कारबाहीको दायरामा ल्याउने विषयमा कहिल्यै पहल नभएको उनको टिप्पणी छ।
यस्तै भनाइ आम उपभोक्ताको पनि छ। राजविराज–१३ का युवा योगेन्द्र यादव भन्छन्, ‘बजारमा रहेका औषधि पसलेले समेत म्याद गुज्रेका औषधि बिक्री गर्छन्। तर, त्यस बारेमा जानकारी भएर पनि कारबाही गर्ने निकाय भने मौन छ।’
सदरमुकाम राजविराजभन्दा पनि पातो, कल्याणपुर, कठौना, कञ्चनपुर, फत्तेपुर, हनुमाननगर, मधुपट्टी, कुशाहा, मौवाहालगायतका ग्रामीण बजारमा म्याद गुज्रेका खाद्यवस्तुको बिक्रीवितरण हुने गरेको छ। चाडपर्वको मौका छोपेर अखाद्य वस्तु बिक्री गर्ने तथा निर्धारित मूल्यभन्दा दोब्बर मूल्य लिएर समान बिक्रीवितरण हुँदासमेत स्थानीय प्रशासनले त्यसलाई नियन्त्रण गर्न नसकेको स्थानीयको गुनासो छ। सदरमुकाममै पनि अधिकांश पसलले मूल्यसूची राख्ने गरेका छैनन्।
चाडपर्व नजिकिएसँगै लागेसँगै सदरमुकाम क्षेत्रमा आइतबारदेखि अनुगमन सुरु गरिएको छ। दिनमा ५÷७ वटा पसलमा अनुगमन गरिएपनि ग्रामीण बजारमा भने अनुगमन नहुँदा त्यस भेगका उपभोक्ता गुणस्तरहीन वस्तु उपभोग गर्न बाध्य भएको पातो बजारका स्थानीय श्यामसुन्दर यादव बताउँछन्।
खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय राजविराजका प्रमुख सुरेश सिंहले अनुगमन निरन्तर चलिरहेको जनाउँदै कारबाही गर्ने काम जिल्ला प्रशासन कार्यालयको रहेको बताए। उनले भने, ‘लेवल नभएको र म्याद गुज्रेको समान पसलबाट निकालेर तत्कालै नष्ट गर्ने गरेका छौं। यो त व्यापारीका पसल सफा गरिदिएजस्तै भएको छ।’