
राजविराज – खडक नगरपालिका भित्र छुटयाएको लक्षित वर्गको रकममा व्यापक अनियमितता भइरहेको छ ।
वडा कार्यालयलाई समेत संचालन गर्न दिइएको लक्षित वर्गका बजेटमा गैर सरकारी संस्थाहरु सँग ४० प्रतिशत कमिशनमा सम्झौता गरिरहेको एक विश्वस्त श्रोतले जनाएको छ । वडा कार्यालयमा छुटयाएको कुल बजेटका १५ प्रतिशत रकम लक्षित वर्गका लागि छुटयाई अनियमितता गरिरहेको आरोप छ ।
खडक नगरपालिका वडा नं. ३ मा दलित र महिला क्षेत्रमा छुटयाएको बजेट कमिशनको चलखेल गरी अन्य क्षेत्रमा लगानी गरेको वडा अध्यक्ष गमकलाल चौधरीले स्वयं स्वीकारेको छ । दलित क्षेत्रको बजेटका लागि गैर बाबा दलित सलहेश नामक संस्थाले दिइएको प्रस्तावना अस्वीकार गरी अन्य क्षेत्रमा लगनी गरेको उक्त संस्थाका अध्यक्ष सियाराम पासवानले जानकारी दिए ।
यस सम्बन्धमा वडा अध्यक्ष चौधरी सँग प्रतिक्रिया लिदा दलित सँग सम्बन्धित संस्थाले लगानी गर्न नसकेका कारण आफु अन्य गैर सरकारी सँग सम्झौता गरेको बताए । वडा कार्यालयहरुको कुल बजेट ४५ देखि ५० लाखको हाराहारीमा रहेको छ । नगरपालिका प्रमुख र प्रमुख प्रशासकिय अधिकृतको मिलोमतोमा वडालाई घटीबढी बजेट दिई, कमिशनका लागि अन्य बजेट नगर स्तरबाटै संचालन गर्न लगाएको एक कर्मचारीले बताए ।
नगरपालिकाका कुल बजेट मध्ये ३ करोड रुपैया लक्षित वर्गका लागि छुटयाई स्थानीय गैर सरकारी संस्था बाहेक सँग सम्झौता गरी ४० प्रतिशत कमिशन लिने गरेको तथ्य बाहिर आएको छ ।
सामाजिक सुरक्षाको भत्तामा पनि अनियमितता
नगरपालिका भित्र जेष्ठ नागरिकले पाइरहेको सामाजिक सुरक्षा भत्तामा पनि अनियमितता भइरहेको छ ।
खडक नगरपालिका वडा नं. १ का झवरी देवी मोचीले बुधवार सबैले भत्ता पाइसकेको र आफु नपाएको गुहार लगाउदै नगरपालिका भित्र आएपछि माईसंचाका टिमले खोज तलास गरेपछि ८ महिनाको सामाजिक सुरक्षा भत्ता वडा कार्यालयका कर्मचारीहरुले मोचीको नक्कली हस्ताक्षर गरी झ्वाम्म पारेको तथ्य फेला परेको छ ।
यस सम्बन्धमा वडा अध्यक्ष सिंहेश्वर मण्डल सँग प्रतिक्रिया लिन खोज्दा ९८१७७२१०७० नम्बर भएको मोवाइल फोन बारम्बार काटिएको थियो ।