राजपाका दर्जनौँ नेता सहित प्रदेश २ का मन्त्री जितेन्द्र सोनलको पद धरापमा

राजपाका  दर्जनौँ नेता सहित  प्रदेश २ का मन्त्री जितेन्द्र सोनलको पद धरापमा

काठमाडौँ– गत मङ्सिर ४ गते बसेको राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको बैठकले महन्थ ठाकुरलाई हटाएर अध्यक्षमण्डलका सदस्य राजेन्द्र महतोलाई नयाँ संयोजक बनाउने निर्णय गर्यो । सोही बैठकले निर्वाचन आयोगमा बुझाइएको केन्द्रीय समितिको नामावलीबाहेक पछि गरिएको मनोनयनलाई मान्यता नदिने निर्णयसमेत गर्यो ।

राजपा स्रोतका अनुसार निर्वाचन आयोगमा नामावली बुझाएपछि पार्टीले महासचिव, सहसचिव, सचिव तथा केन्द्रीय सदस्यलगायत विभिन्न पदमा नियुक्ति गरेका थिए । मनोनयनमा पर्ने उनीहरू अहिले आफूले आधिकारिकता नपाउने हो कि भन्ने चिन्तामा फसेका हुन् ।

तर नियुक्त गरिएका व्यक्तिहरूमध्ये अधिकांशको तथ्याङ्क तथा माइन्युट पार्टी कार्यालयमा छैनन् । त्यसले गर्दा उनीहरूको नियुक्ति कसरी भएको थियो भन्ने आधिकारिकता पाउनै कठिन रहेको राजपाका नेताहरू नै बताउँछन् ।

को हुन् मनोनित ?

आयोगमा नामावली बुझाइएपछि राजपाले महासचिवमा पुरुषोत्तम झा र शशीकपुर मियाँलाई मनोनयन गरेको थियो ।  यद्यपि अध्यक्षमण्डलले मङ्सिर ४ गते सो निर्णय गर्ने वित्तिकै उनीहरू पार्टी छाडेर सङ्घीय समाजवादी फोरम नेपालमा प्रवेश गरिसकेका छन् । फोरम नेपालले झा र मियाँलाई केन्द्रीय सदस्यमा मनोनयन गरिसकेको छ ।

यस्तै राजपा नेपालले विनोद सिंह, जयप्रकाश ठाकुर, पुरुषोत्तम झा, सुरेन्द्र झा, शशीकपुर मियाँलाई पनि महासचिवमा मनोनित गरेको छ भने अरविन्द साह, प्रमेश्वर साह, कुमरनाथ मिश्र, रामकिशोर यादवलाई सहमहामन्त्रीमा मनोनय गरेको छ । त्यसबाहेक सचिव र केन्द्रीय सदस्यमा पनि थुप्र्रैलाई मनोनित गरिएको थियो तर उनीहरूको कुनै तथ्याङ्क पार्टी कार्यालयमा छैन ।

राजपाको मङ्सिर ४ मा भएको निर्णयबारे महासचिव विनोद सिंह भन्छन्, ‘पार्टीको आवश्यकता थियो मनोनयन गर्यो, आवश्यकता नभए हामीलाई हटाउँछ । यो कुनै ठूलो कुरा होइन ।’ यद्यपि उनले महासचिवबाट हटाएको बारे अहिलेसम्म आफूलाई कुनै पत्र नआएको  बताए ।

ठाकुर राजपा नेपाल अध्यक्षमण्डलको संयोजक रहेको बेला यी सबै मनोनयन तथा नियुक्तिहरू भएका हुन् । नेता ठाकुरले यी सबै मनोनयन आफूखुशी गरेको पार्टीमा आरोप छ र सोही आरोपको आधारमा उनलाई संयोजक पदबाट हटाएर राजेन्द्र महतोलाई राखिएको बताइन्छ ।

सङ्गठनमा मात्र होइन, बाहिर राजनीतिक नियुक्ति तथा अन्य नियुक्तिमा मनोमानी भएको ठाकुरइतरका पक्षको आरोप छ । अध्यक्षमण्डलका सदस्य महेन्द्रराय यादवले पार्टीमा कुनै निर्णय नै नगरी विभिन्न नियुक्ति तथा मनोनय भएको आरोप लगाएका छन् ।

पछिल्लो समय प्रदेश २ को नीति आयोगमा पार्टीले तीन जनालाई नियुक्त गर्ने सिफारिश गरेको थियो । त्यसमा डा. सुरेन्द्र झा, राजकुमार लेखी र रामप्रवेश बैठाको नाम सिफारिस गरियो ।  तर पार्टीमा उनीहरूको सिफारिसबारे पनि कुनै निर्णय नभएको गुनासो रहेको छ ।

ठाकुरका सम्धी उमाकान्त झामाथि पनि प्रश्न उठेको छ । प्रदेश ५ को प्रमुखमा नियुक्तिका लागि उनलाई सिफारिश गर्दा पार्टीमा कुनै पनि सल्लाह नभएको आरोप महेन्द्रराय यादवहरूको छ । ठाकुरले आफ्नै मनले नियुक्त गरेको कुरा उनीहरूले सार्वजनिक रूपमै भन्दै आएका छन् ।

त्यस्तै, प्रदेश २ को संसदीय दलको नेतामा जितेन्द्र सोनललाई नियुक्त गरियो । सोनललाई संसदीय दलका नेतामा मात्र चयन गरिएन, उनलाई मन्त्रीका लागि समेत सिफारिश गरिएको थियो । त्यसमा पनि ठाकुरले कसैसँग सल्लाह गरेको पार्टीमा गुनासो छ । ठाकुरले गत फागुन ३ गते जनकपुरमा भएको बेला उनलाई दुवै पदमा सिफारिस गरेका थिए ।

प्रदेश २ का संसदीय दलका नेता एवम् मन्त्री सोनलप्रति पनि प्रश्न उठेको छ । उनलाई संसदीय दलको नेता राख्ने कि नराख्ने विषयमा पनि पार्टीभित्र विचार विमर्श हुन थालेको छ ।

त्यतिबेला पार्टीमा सबारेमा कुरा पनि उठेको थियो । पार्टीका प्रवक्ता केशव झा भन्छन्, ‘त्यतिबेला पार्टीको संसदीय दलको नेता हुने व्यक्ति मन्त्री हुन नपाउने निर्णय भएको थियो । त्यो कुरालाई पछि पार्टीमा उहाँहरूले कसरी मिलाउनुभयो, थाहा भएन ।’

त्यस्तै, परमेश्वर साहलाई पनि प्रदेश २ को प्रदेशसभा सचेतकमा चयन गरियो । तर पार्टीमा उनको बारेमा पनि कुनै अभिलेख छैन अर्थात् ठाकुरले उनको बारेमा पनि पार्टीमा कुनै छलफल नगरेको नेताहरू बताउँछन् । उनको पद पनि धरापमा परेको पार्टी स्रोतले जनाएको छ ।

प्रदेश २ का लागि तीन जना राज्यमन्त्रीको नाम सिफारिश गर्दा त्यसमा पनि विवाद भएको थियो । सुरेश मण्डल, अभिराम शर्मा र डा. डिम्पल झा राज्यमन्त्रीका लागि सिफारिश भएका थिए । त्यसमा ठाकुरले आफू निकटका दुई जना पठाएको राजपाका नेताहरूको दाबी छ ।

उनीहरूका अनुसार मण्डल र शर्मा ठाकुर पक्षधरका हुन् ।

त्यसैगरी, प्रदेश २ का मन्त्री, राज्यमन्त्री, सांसद, सभामुख, सचेतक लगायतले आफ्ना सचिवालयमा गरेका नियुक्तिको बारेमा पनि पार्टीलाई कुनै जानकारी गराएका छैनन् । सबैजनाले आआफ्नो तरिकाले नियुक्त गरेका छन् । यसको बारेमा पनि अब पार्टीका छलफल हुने बताइएको छ ।

उता, प्रदेश ५ का प्रदेश प्रमुख उमाकान्त झाले आफ्नो निजी सचिवालयमा १२ जनालाई नियुक्त गरेका छन् । अब विगतमा भएका सबै निर्णय÷नियुक्तिका  विषयमा पार्टीमा छलफल गरेर निर्णय गर्ने तयारीमा नयाँ संयोजक रहेको बुझिएको छ ।

रातोपाटीले लेखेको समाचार अनुसार, पार्टीका सहमहामन्त्री राकेश मिश्रले भने, ‘जो जे अवस्थामा नियुक्त वा मनोनित भए पनि कसैलाई हटाउनु हुँदैन । यदि अहिले नियुक्त भएकालाई हटायो भने पार्टीमा द्वन्द्व बढ्न सक्छ । त्यसले आउने दिनमा कुनै नियुक्ति गर्दा त्यस्ता त्रुटिहरूमा ध्यान दिएर गर्नुपर्छ ।’

पार्टीमा यसबारे विवाद बढाउनुभन्दा समाधानतिर जाँदा राम्रो राम्रो हुने उनको सुझाव छ ।

Online Saptari Registration
Online Saptari Registration

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Under News Detail – 750 X *