प्रक्रिया पूरा नगरी ठेक्का लगाउँदा राजविराज नगरपालिकाको लाखौं रुपैँया डुब्ने अवस्थामा

प्रक्रिया पूरा नगरी  ठेक्का लगाउँदा राजविराज नगरपालिकाको लाखौं रुपैँया डुब्ने अवस्थामा

राजविराज– आवश्यक प्रक्रिया पूरा नगरी हटिया ठेक्का लगाउँदा राजविराज नगरपालिकाको लाखौं रुपैँया डुब्ने अवस्थामा पुगेको छ।

आर्थिक वर्ष समाप्त हुन लाग्दा समेत ठेकेदारले कबोल गरे बापतको रकम नबुझाएपछि नगरपालिकाबाट भएको अनियमित क्रियाकलाप बाहिर आएको हो।

आर्थिक वर्ष २०७४/७५ का लागि नगरपालिकाले हटिया, गुदरी, बैठकी बट्टी रकम असुली गर्न ठेक्का आह्वान गरेपछि बोलकबोलका क्रममा राजविराज ५ स्थित अजय अनुज कन्ट्रक्सनले ५९ लाख ४१ हजार ५ सय ५१ रुपैयाँमा ठेक्का पायो।

ठेक्का स्वीकृत भएपछि नगरपालिका कार्यालयले २०७४ असार ३० मा ठेकेदारका नाममा १ महिना १९ दिनका लागि अस्थाई चलन पुर्जी दिएर कर संकलनका लागि अनुमति दिएको थियो। अस्थायी चलन पुर्जीमा २०७४ भदौ २० भित्र बैंक ग्यारेन्टीसहित ठेक्काको सम्झौता गर्नुपर्ने सर्त राखिएको छ।

तर, अस्थायी चलन पुर्जी लिएर गएपछि ठेकेदारले कार्यालयमा सम्पर्क नै नगरेको कर्मचारीहरुले बताएका छन्। ठेक्का लागेको १ वर्ष बितिसक्दा समेत नगरपालिका र ठेकेदारबीच कर असुली सम्बन्धी सम्झौता भएको छैन। अस्थायी चलन पुर्जीकै आधारमा निर्वाध कर असुली भइरहेको कर्मचारीहरु नै बताउँछन्।

एक वर्षदेखि कर संकलन भइरहे पनि कार्यालयलाई भने हालसम्म पहिलो किस्ता बापतको १५ लाख रुपैयाँ मात्र बुझाइएको छ। ठेकेदारले सम्झौता पनि नगरेको र कार्यालयलाई बुझाउनुपर्ने रकम समेत नबुझाएपछि पत्राचार गर्न खोज्दा तत्कालीन निमित्त कार्यकारी अधिकृत उमेशकुमार यादवले रोकेको कर्मचारीहरु बताउँछन्।

‘जनप्रतिनिधि पनि नभएका बेला कार्यकारी अधिकृतले भनेपछि हामी पनि चुप लागेर बस्न वाध्य भयौं,’ एक कर्मचारी भन्छन्, ‘हाकिमका अगाडि जबरजस्ती गर्ने हाम्रो हिम्मत भएन।’

स्थानीय तह निर्वाचनपछि कर्मचारी समायोजनका क्रममा सरुवा भएर यादव वोदेवरसाइन नगरपालिकामा पुगेका छन्। राजविराज नगरपालिका कार्यालयको प्रमुख प्रशासकीय अधिकृतमा चन्द्रबहादुर कार्की आएपछि हटिया ठेक्काका विषयमा खोजविन सुरु भएको छ। कार्कीले ठेकेदारका नाममा पत्राचार गरे पनि हालसम्म रकम भने नबुझाएको कर्मचारीहरुले जनाए।

नगरपालिकाका मेयर शम्भु यादवले तत्कालीन कार्यकारी अधिकृत यादवले सिमित समयका लागि दिएको अनुमतिका आधारमा हालसम्म पनि कर संकलन भइरहेको विषय स्वीकार गरेका छन्।

सम्झौता र बैंक ग्यारेन्टीबिना वर्ष दिनदेखि कर संकलन भइरहेकाले ७ दिनभित्र वक्यौता रकम बुझाउन ठेकेदारका नाममा पत्राचार गरिएको बताउँदै मेयर यादवले तोकिएको समयमा रकम नबुझाए छानविन र कारबाही अघि बढाउने बताए ।नेपनाल लाईभबाट सम्भार  

Online Saptari Registration
Online Saptari Registration

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Under News Detail – 750 X *